समाचार
चौरजहारी नगरपालिकाको संक्षिप्त परिचय
हिमाल पहाड र तराईको झल्को दने चौरजहारी नगरपालिका सुन्दर प्रकृतिको काखमा अवस्थित छ। नेपालको कर्णालीप्रदेश रुकुम पश्चिमदेखि १६ कोष पश्चिम दक्षिणमा पर्ने चौरजहारी नगरपालिकामा समथर उपत्यका, टाकुरा र अग्ला चुचुराहरु छन् । स्थानीय भाषामा समथर भू-भागलाई चौर भनिन्छ । भेरी नदिको कनारमा समथर चौर रहेको र त्यसमा करौंती, चिमेली, दाँते लगायत जातका झाडीहरु रहेकोले चौर+झारी शब्दको संयोजन गरी विगतमा चौरझारी भन्ने गरेको पाइछ । चौरझारी शब्दको अपभ्रंश हुँदै जाँदा त्यस ठाउँको नाम चौरजहारी हुन गएको भनाई छ।
२०७२ असोज १ गते तत्कलिन विजयश्वरी र कोटजहारी गा.वि.स.को समायोजन गरी चौरजहारी नगरपालिका घोषणा गरिएको थियो । मन्त्रीपरिषद्को मिति २०७३ फागुन २२ गतेको निर्णयपछि २०७३ फागुन २७ गते स्थानीय तहको नयाँ संरचना बन्यो । स्थानीय तहको संरचना निर्माणका क्रममा रुकुमका तत्कालिन चौरजहारी नगरपालिकाका, खोलागाउँका साथै नुवाकोट र पूर्तिमकाँडाका केही वडाहलाई एक ठाउँमा गाभियो । जसको नामाकरण पुन: चौरजहारी नगरपालिका भयो । सल्यान दार्माकोट भएर साविकका नुवाकोट, खोलागाउँ र पूर्तिमकाँडा हुँदै बग्ने जहारीखोला रहेको छ । नगरपालिकाको सबै भू-भाग समेटेर यो जहारीखोला बग्ने गरेको छ । जहारीखोला बग्ने जहारी क्षेत्र र समथर भू-भाग चौरलाई संयोजन गर्दा चौरजहारी शब्द निर्माण हुने भएकोले नगरपालिकाको नाम चौरजहारी नै नामाकरण गर्न उचित ठहर गरिएको थियो । यसैको परिणाम स्वरुप थप भू-भागसहित स्थानीय तहको नयाँ संरचनाका क्रममा पनि चौरजहारी नगरपालिकाको नामले निरन्तरता पायो ।
चौरजहारी नगरपालिकाको सीमाना पूर्वमा त्रिवेणी गाउँपालिका पश्चिममा जाजरकोटको भेरी नगरपालिका पर्दछ । त्यसैगरी उत्तरमा सानीभरी गाउँपालिका र दक्षिणमा सल्यानको कुमाख गाउँपालिका रहेको छ । समुन्द्र सतहदेखि ६ सय ६७ मिटर उचाइ भएको बाँसखोलास्थित भेरी नदी नगरपालिकाको सबैभन्दा होचो स्थान हो । वडा नम्बर ४ को मालिका लेक, वडा नम्बर ६ को खागल, वडा नम्बर १४ को दयालेक यस नगरपालिकाका अग्ला स्थानहरु हुन् जो १ हजार ५ सय १२ मिटरभन्दा बढि उचाईमा रहेका छन् ।
२०७२ अघिका तत्कालिन गा.वि.स.हरु विजयश्वरी, कोटजहारी, खोलागाउँ त्यसैगरी पूर्तिमकाँडा गा.वि.स.का ४, ५ र ९ र नुवाकोट गा.वि.स.का १, २, ४, ५, ६, ७, ८ र ९ नम्बर वडा यस नगरपालिकामा गाभिएका छन् । चौरजहारी नगरपालिकाको क्षेत्रफल १०७.३८ वर्गकिलोमिटर छ भने २०६८ को जनगणनानुसार २७ हजार ४ सय ३८ जनसंख्या रहेको छ । विजयश्वरीडाँडा केन्द्र तोकिएको यस नगरपालिकालाई १४ वटा वडामा विभाजन गरिएको छ । चौरजहारी पुरानो बजार, नयाँ बजार, विजयश्वरी, मेलैनाउली, नार्जि, शान्तिबजार, चन्द्रबजार, चौफा बजार, खारैरह, सिलिङ्गी आदि यस नगरपालिकाका मुख्य व्यापारिक केन्द्रहरु हुन् ।
यस नगरपालिकामा उपत्यका, टाकुरा र अग्ला लेकहरु पनि रहेका छन् । वडा नम्बर १, २ र ३ मा समथर भू- भाग रहेको छ । चौरजहारी नगरपालिकाका लामिछानेगाउँ, नाखिरा, घारीगाउँ, नयाँ बजार, टाटागाउँ, स्यालखोला आदि समथर भु-भाग हुन् । जसमा चौरजहारी उपत्यका रहेको छ । वडा नम्बर १३, ११, १०, ६, ५, ७, ४, ८ र ३ नम्बर वडाको बेसी भएर जहारीखोला बग्दै भेरी नदिमा गएर मिसिन्छ । जहारीखोलाको आसपासमा अंगेरी, मेलैनाउली, नार्जि, थापाचौर, डाब, धुलेखेत, चिसापानी, घुघुतीज्यूला लगायतका फाँटहरु रहेका छन् । जो कृषिका लागि उपयोगी समेत छन् । अमलाटाकुरा, मालिका, कोटजहारी, गडीलेक, मालिका, न्याउली बजार, खागल, जुम्ली पोखरी, खोलागाउँ, दयालेक आदि अग्ला भू-भाग हुन् । यी भू-भागहरु १२ सयदेखि १६ सय मिटरसम्म अग्ला रहेका छन् । यी अग्ला भागहरुमा कहिलेकाही हिउँसमेत पर्दछ ।
आफ्नै भौगोलिक धार्मिक, ऐतिहासिक, राजनैतिक र सामाजिक महत्व र विशेषता यस नगरपालिकाको छ । यहाँ व्राहमण, क्षेत्री, दलित, जनजाति, अपसंख्यक लगायतको मिश्रित बसोबास छ ।व्राहमण, क्षेत्री, दलित र जनजाति अन्तर्गतका ठकुरी, मगर, कामी, दमाई, कुमाल, बादी, बटाला, बस्नेत, खत्री, भण्डार, ओली, गरी, वनगोसाइँ, विष्ट, पुन, घर्ति, थापा यहाँका जातजातीहरु हुन् ।
धार्मिक तथा साँकृतिक, कृषि र शैक्षिक पर्यटनका लागि चौरजहारी नगरपालिका आकर्षक गन्तव्यका रुपमा रहेको छ । वडा नम्बर २ मा रहेको विजयश्वरी भगवती मन्दिर रहेको छ । यो मन्दिरमा पूजा गरे मनोकाङ्कक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । वडा नम्बर ४ मा रहेको यो मन्दिर सबैभन्दा उचाइमा रहेको छ । यो मन्दिरमा गई दर्शन गरेमा मनोकाङ्कक्षा पूरा हुने, पानी नपरेमा बोका चढाए पानी पर्ने विश्वास गरिन्छ । विभिन्न हिमशृङ्खलाको तथा रुकुम (पश्चिम) का साथै सल्यान र जाजरकोटका विभिन्न ठाउँको अवलोकन समेत गर्न सकिन्छ ।
यस्तै चौरजहारी नगरपालिकाको वडा नं. ९ गुर्तालगाउँमा रहेको तिर हान्ने ढुंगा पनि निकै रमणीय ठाउँमा रहेको छ । जाजरकोट सदरमुकाम नियाल्न सकिने तथा भेरी नदिको अवलोकन गर्न सकिने यो स्थलमा कलात्मक ढुङ्गाहरु रहेका छन् । जुन बाईसे चौविसे राज्यका बेला जाजरकोटका राजाले रुकुमका राजालाई ढुंगा प्रहार गरेको थियो रे ! त्यही ढुंगा आजभोली पनि देख्न सकिन्छ । यस्तै मनकोटडाँडा पनि ऐतिहासिक डाँडाको रुपमा रहेको छ । यो डाडाँ हुँदै सिधै गयो भने काठमाडौंको नागढुंगा पुग्न सकिने बुढापाखाहरुको भनाई छ ।
वडा नम्बर २ को देवल र वायुघट्ट पनि रहेको छ । जाजरकोटका तत्कालिन राजा जगतिसेनबाट पत्थरमा कलात्मक रुपमा बिचबिचमा नक्सा हालेर निर्मित देवल र यसभित्र रहेको वायुघट्ट निकै कलात्मक र ऐतिहासिक रहेको छ ।
चौरजहारी नगरवासीहरुका लागि दशैं, तिहार, माघे सक्रान्ति चैते देशैं, असारे सङ्क्रान्ति, श्रीकृष्ण जन्माष्ठमी, तीज आदि चाडपर्वहरु हुन् । शंखपीपल, पाँच पूर्णिमा, भदौ १२ र २०, चौफा, सताइस, औसी, भैली मेला, दह पोखरा, कोटै र ढकै मेला यहाँका मुख्य जात्रा तथा मेलाहरु हुन् ।
विभिन्न जातजातिहरुबीचको सामाजिक, साँकृतिक र धार्मिक सहिष्णुता, सद्भाव, सहकार्य र एकता यस नगरपालिकाको मुख्य विशेषता हो । विविध संस्कृतले भरिपुर्ण छ यो नगरपालिका । सोरठी, सिगारु, पैसेरी, तीज, देउसी, भैलो, टप्पा, झ्याउरे आदि नाच विशेष पर्व तथा उत्सवमा मनोरञ्नका लागि नाचिन्छ ।नगरक्षेत्रका सबै समुदायले नाच्ने यो मयुर नाच निकै लोकप्रिय छ । यो नाँच नाँच्दा बासुरी मादल तथा अन्य बाजाँगाजाहरुको प्रयोग समेत गरिन्छ । महिला तथा पुरुषले मिश्रित रुपमा नाच्ने यो नाँच निकै आकर्षक अनि रमाईलो हुन्छ । धार्मिक, साँस्कृतिक एवं पर्यटकीय क्षेत्रहरुको संरक्षण सम्बर्द्धन गर्न नगरपालिकाले प्रोत्साहन गर्दै आएको छ ।
बाघ, बाँदर, स्याल, खरायो, मलस्याब्रो, घोरल, रतुवा आदि यस क्षेत्रमा पाइने वन्यजन्तुहरु हुन् । त्यसैगरी चराचुरुङ्गीहरुमा होलेसा, मलेवा, तित्रा, ढुकुर, कालिज, काग, गिद्ध, सुँगा आदि पाइन्छन् । साल, सल्ला, खयर, सिसौं, बाँझ, साज, भिमल, वर, पीपल, खैरी, कोठीमारो, जामुना आदि यहाँका मुख्य वनस्पतिहरु हुन् ।
प्राकृतिक सुन्दरता, सहरीकरण, कृषि, पशुपालन र मौलिकता संस्कृति चौरजहारी नगरपालिको पहिचान हो। विविधताबीचको एकता यहाँ पाउँन सकिन्छ ।प्राकृतिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक, उत्पादन र पर्यटनको समग्ररुप चौरजहारी नगरपालिका हो
"आत्मनिर्भर, एकतावद्ध र समृद्ध नगरको निर्माण: चौरजहारी नगरवासीको पहिचान" भन्ने मुलनारालाई आत्मसात गर्दै यस चौरजहारी नगरपालिका क्षेत्रको समृद्धि, समुन्नति र विकासको लागि नगरपालिका परिवार अगाडि बढिरहेकोछ । क्रमश: शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारीलाई प्रमुख प्राथमिकताक्रमका क्षेत्र तोकि सोही अनुरुप बजेट बिनियोजन गरी नगरपालिका विकासको पथमा लम्किरहेको छ
केन्द्रः साबिक विजयश्वरी गा.वि.स. को कार्यालय,